काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १६.५ प्रतिशतले कम हो। गत वर्ष सोहि अवधिमा बीमा कम्पनीहरूले ६२ अर्ब २२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका थिए।
बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले १ लाख ४४ हजार ३०६ वटा दाबीबापत ३१ अर्ब १० करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा २ लाख ८१० वटा दाबीबापत ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ भुक्तानी भएको थियो।
समिक्षा अवधिमा निर्जीवन बीमा तर्फ भने दावी भुक्तानी केहि बढेको छ। चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमकहरूले १ लाख ११ हजार ७०७ वटा दाबीबापत कुल २० अर्ब ४८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन्। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ अर्ब ६२ करोड २८ लाख रुपैयाँभन्दा बढी हो।
यद्यपि, प्राधिकरणका अनुसार दाबी बीमा भुक्तानीको ठूलो हिस्सा अझै बाँकी देखिन्छ। तथ्यांकअनुसार चैत मसान्तसम्म बीमा कम्पनीहरूले कुल ५२ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ बराबर १ लाख ७५ हजार ४६३ दाबी भुक्तानी गर्न बाँकी छ।
तथ्यांकअनुसार जीवन बीमा कम्पनीतर्फ ६१ हजार ५१६ दाबीबापत ५ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। जुन गत वर्षको सोही अवधिको ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी हो। त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूमा १ लाख १३ हजार ९४७ दाबीबापत ४७ अर्ब १६ करोड १ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३० अर्ब ९३ करोड रुपैयाँको उल्लेख्य वृद्धि हो।







