काठमाडौं । नेपाल राष्ट्र बैंकको ७१औँ वार्षिकोत्सवकै दिन संस्थाभित्रको असन्तुष्टि छताछुल्ल भएको छ। बैंकको वार्षिकोत्सव कार्यक्रममा गभर्नरविरुद्ध कर्मचारीहरूले गेटमै कालो ब्यानर देखाउँदै विरोध जनाएपछि बैंकभित्रको वास्तविक चित्र बाहिरिएको हो। गभर्नरविरुद्ध कालो ब्यानर देखाएका कर्मचारीहरुले कार्यक्रमसमेत बहिष्कार गरेका छन्।
कर्मचारीहरूले गभर्नर विश्वनाथ पौडेल नेतृत्वप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि राखिएका मागप्रति व्यवस्थापन नभएको गम्भीर आरोप लगाएका छन्। उनीहरूका अनुसार कात्तिकदेखि रोकिएको कर्मचारी बढुवा प्रक्रिया विभिन्न बहानामा रोकिएको छ भने गभर्नर पौडेल संस्थागत कामभन्दा बाह्य गतिविधिमा बढी संलग्न हुने गरेका छन्।
बिरोधमा उत्रिएका कर्मचारीहरुका अनुसार गभर्नर पौडेलसमक्ष पटक–पटक जायज माग राख्दा समेत ‘हेर्दैछौँ’/ गर्दैछौँ भन्दै टार्ने काम मात्रै हुने गरेको छ। गभर्नरलाई कार्यालयमा भेट्नसमेत कठिन हुने अवस्था सिर्जना भएपछि आफूहरुसँग विरोधमा उत्रिन विकल्प नरहेको उनीहरूको भनाइ छ।
त्यस्तै , राष्ट्र बैंक कर्मचारी संघले पनि कर्मचारीको हितमा व्यवस्थापनले ध्यान नदिएको भन्दै वार्षिकोत्सव कार्यक्रम नै बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।
संघकी निवर्तमान अध्यक्ष गीता पोखरेल लम्सालले वार्षिकोत्सवकै दिन विरोध गर्नुपर्दा मन अमिलो भएको तर यो आफ्नो बाध्यता भएको बताइन्। कर्मचारीहरुका जायज मागप्रति बेवास्ता भएपछि बाध्य भएर कार्यक्रम बहिष्कार गर्नुपरेको उनको भनाइ छ।
गभर्नर पौडेलको कार्यव्यवहारका कारण राष्ट्र बैंकभित्र कर्मचारीको असन्तुष्टि बढ्दै गएको संघले जनाएको छ।
कर्मचारीहरूले लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया तत्काल अघि बढाउन, व्यवस्थापनसँग नियमित संवाद गर्न र संस्थागत निर्णयमा पारदर्शिता कायम गर्न माग गर्दै आएका छन्।
यसरी वार्षिकोत्सवकै दिन गेटमै कालो ब्यानर देखाएर कर्मचारीबाटै गरिएको विरोधले केन्द्रीय बैंकभित्र बढ्दै गएको आन्तरिक असन्तुष्टिलाई सतहमा ल्याएको छ।
त्यसमाथि बैंकको वार्षिकोत्सवको समाचार संकलन गर्न गएका संचारमाध्यमलाई सरकारको निर्देशन भन्दै समाचार संकलन गर्न समेत रोक लगाएपछि गभर्नर पौडेलविरुद्धको असन्तुष्टि थप चुलिएको छ।








