गोरखा । गोरखा सङ्ग्रहालयमा गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले अवलोकन गरेका छन्।
सङ्ग्रहालय प्रमुखका अनुसार नेपाल एकीकरणको उद्गम थलोका रूपमा परिचित गोरखामा ऐतिहासिक अध्ययनका लागि आउने आगन्तुकको सङ्ख्या वर्षेनी बढ्दै गएको छ।
गत वर्ष सङ्ग्रहालयबाट ३० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए।
उनका अनुसार सङ्ग्रहालयको संरचना, यहाँ प्रदर्शित सामग्री, शाह वंशको इतिहास र नेपाल एकीकरणसम्बन्धी विषय अध्ययन गर्न आगन्तुक आउने गरेका छन्।
गत वर्ष अवलोकनकर्तामध्ये ४४ हजार ७० विद्यार्थी र ८७ हजार २१९ सर्वसाधारण रहेका थिए।
सङ्ग्रहालयमा सार्क मुलुकबाट १६० तथा अन्य विदेशी मुलुकबाट २ हजार ५४२ पर्यटक आएका छन्। पछिल्ला वर्षहरूमा विद्यार्थीसँगै विदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो क्रममा रहेको कार्कीले बताए।
सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीले १० रुपैयाँ, नेपाली नागरिकले २५ रुपैयाँ, सार्क मुलुकका नागरिकले ५० रुपैयाँ र अन्य देशका नागरिकले १०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। सङ्ग्रहालय सातै दिन खुला रहने जनाएको छ।






