खानेपानी कार्यालय कलैयाका निमित्त प्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा दायर: झन्डै डेढ करोड अवैध सम्पति आर्जन

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया (बारा) का निमित्त कार्यालय प्रमुख किशोरी प्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार यादवले सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी वैध आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ। अनुसन्धानअनुसार सेवा प्रवेश (२०४७ असार ३१) देखि २०८० पुस २९ सम्मको अवधिमा यादव र उनको परिवारको वैध आम्दानी करिब ३ करोड ४६ लाख २१ हजार रुपैयाँ देखिएको छ।

तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सेयर लगानी तथा सवारी साधन खरिदलगायत शीर्षकमा करिब ४ करोड ९३ लाख २ हजार रुपैयाँ खर्च भएको देखिएपछि करिब १ करोड ४६ लाख ८१ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको आयोगको ठहर छ।

अनुसन्धानका क्रममा अवैध सम्पत्ति लुकाउन श्रीमतीको नाममा समेत लगानी गरिएको भेटिएकाले यादवकी श्रीमतीलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

आयोगले यादवविरुद्ध बिगो असुली, जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *