डेपुटी गभर्नर पण्डितको सम्पत्ति : करोडौंको जग्गा, दुई करोडबढी बैंक ब्यालेन्स २० तोला सुन

काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार उनले तथा उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी र बैंक मौज्दात रहेको देखिएको छ।

विवरण अनुसार काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको उल्लेख छ। उक्त सम्पत्तिको स्रोत निजी तथा श्रीमतीको आय र बैंक ऋण भएको जनाइएको छ।

यसैगरी काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ।

परिवारतर्फ बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाडौंमा ६ रोपनी जग्गा रहेको देखिएको छ। साथै आमाको नाममा काठमाडौंको सामाखुशीमा साढे २ तले घर रहेको र उक्त सम्पत्ति पैतृक भएको जनाइएको छ।

पण्डितले आफ्नो व्यक्तिगत सम्पत्तिमा २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको खुलाएका छन्। उक्त सम्पत्तिको स्रोत विवाह, पास्नी तथा निजी आर्जन भएको उल्लेख छ।

त्यस्तै उनले नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी २ करोड रुपैयाँभन्दा बढी बचत रहेको विवरणमा देखिएको छ। साथै विभिन्न कम्पनीमा ७ सयभन्दा बढी कित्ता शेयर लगानी रहेको पनि उल्लेख गरिएको छ।

सरकारले उनलाई गत चैत २४ गते नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *