काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी श्रीमती राखी निहारिका ठाकुरका नाममा अवैध कारोबारको आरोपमा अनुसन्धान भैरहेको कम्पनीमा साझेदार रहेको तथ्य सार्वजनिक भएको छ। सोही कम्पनीसँग सम्बन्धित सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरको अभियोगमा व्यवसायी भट्ट हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। अनुसन्धानका क्रममा भट्ट र ठाकुर एउटै कम्पनीमा जोडिएको कागजात सार्वजनिक भएपछि ठाकुरमाथि समेत अनुसन्धान थालिएको गृहमन्त्रालय स्रोतले जनाएको छ।
धितोपत्र कारोबारसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा कारबाही सिफारिस भएको हिमालयन रि–इन्स्योरेन्समा भट्टको इन्फिनिटी होल्डिङसँगै ठाकुरकी श्रीमती राखी निहारिका ठाकुरको नाममा समेत शेयर रहेको कागजात भेटिएको छ। कम्पनीको शेयर लगतअनुसार राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता सेयर देखिन्छ। कम्पनीमा उल्लेख गरिएको नागरिकता विवरणअनुसार उनको स्थायी ठेगाना मधेश प्रदेश महोत्तरी जिल्ला, मनरा शिवा नगरपालिका–९ रहेको छ। उक्त विवरणमा पतिको नाम गजेन्द्र कुमार ठाकुर नै उल्लेख रहेको छ।
हिमालयन रि–इन्स्योरेन्समा भट्टसँगै शाहिल अग्रवाल, सुलभ अग्रवाल र शेखर गोल्छालगायतको पनि लगानी रहेको छ। यही कम्पनीसँग सम्बन्धित अवैध कारोबार र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरको आशंकामा भट्टमाथि अनुसन्धान भइरहेको छ। तर, अनुसन्धान गरिरहेको निकायका प्रमुखकै परिवारको सोही कम्पनीमा साझेदारी देखिएपछि स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्टरेस्ट) देखिएको छ।
यसअघि भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङको नाममा समेत शेयर रहि उनी व्यावसायिक साझेदारी रहेको तथ्य सार्वजनिक भएको थियो।
अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागकै नेतृत्वसँग समेत सम्बन्ध देखिएपछि विभागकै सिफारिसमा प्रहरी हिरासतमा रहेका भट्टमाथि उनकै अर्का साझेदार रहेका शेखर गोल्छाको दाउपेच भएको हुन सक्ने आशंका गरिएको छ।
गोल्छा र भट्टको मनमुटावमा महानिर्देशक गजेन्द्र ठाकुरले भट्टको मात्र नाम अनुसन्धानका लागि सिफारिस गरी गोल्छालाई जोगाउन भूमिका खेलेको बिषय यतिबेला चर्चामा छ।







