संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १२ वटा संसदीय समितिका सभापति शुक्रबार निर्वाचित भएका छन्। निर्वाचित सभापतिहरूको शपथ दिउँसो ४ बजे सिंहदरबारमा हुने भएको छ। सभापतिहरूलाई सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ खुवाउने संसद् सचिवालयले जनाएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी निर्वाचित भएका छन्।

त्यसैगरी संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन्। रास्वपाको समर्थन पाएपछि उक्त पदमा एकल उम्मेदवारी परेको थियो।

बाँकी दुई समितिमा प्रतिस्पर्धा भएको थियो। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदन कुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा हुँदा कार्की निर्वाचित भए।

त्यस्तै प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा हुँदा शेरचन निर्वाचित भएकी छन्।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *