काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एनसीएचएलबीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ ।
एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्धारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदानप्रदान भएको हो ।
एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस-एनसीएस)सँग इन्टिग्रेट भइसकेको र उक्त सम्झौता पश्चात् माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ, साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरु र रुपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरु प्रोसेस गर्न सक्नेछ ।
पहिलो चरणमा बैंकले आफ्नो १९९ भन्दा वटा एटीएम र ३००० भन्दा वटा पीओएस टर्मिनल मार्फत नेपालपे कार्डको अक्वायरिङ्गका लागि इनेबल गर्नेछ भने क्रमिक रुपमा उक्त कार्ड आफ्नो ग्राहकहरुलाई जारी समेत गर्नेछ ।
एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायीक रोलआउट शुरु गरिसकेको छ भने अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवकमार्फत नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ ।
साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।
एनसीएचएलको इएफटी सर्भिसेस् मार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाहरुले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरु प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेशनल पेमेन्ट स्वीच बीचको इन्टिग्रेसनसँगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सक्ने भएको हो । इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरुले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन् ।
हालसम्म नेपालपेमा ३४ भन्दा बढि बैंक वित्तीय संस्थाहरु आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । नेपालपे कार्ड कार्यान्वयनमा आइसकेको छ र हाल २ वटा कमर्सियल बैंकहरुले कार्ड इस्यू गर्न शुरु गरिसकेको छ भने तीन वटा कमर्सियल बैंकहरुले अक्वायरिङ्ग पनि गर्दै आइरहेको छ र आगामी दिनहरुमा यो वृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपालका अग्रणी बैंकहरु मध्येको माछापुच्छ्रे बैंकले हाल १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समयदेखि बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ । देशभर बैंकका १६५ वटा शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा तथा १९९ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन् । बैंकका हालसम्म ४ लाख भन्दा बढि कार्डहोल्डर ग्राहकहरु रहेका छन् ।






