काठमाडौं — देशभर आजदेखि दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालय का अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्।
कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलन आगामी असारको पहिलो सातासम्म सम्पन्न गरिनेछ।
यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।
अर्थ मन्त्रालय ले औद्योगिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्यांक संकलन हुने भएकाले सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।
गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थानको संख्या, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत १८ क्षेत्रमा आधारभूत विवरण संकलन गरिनेछ।
साथै दर्ता भएका र नभएका साना–ठूला व्यापार प्रतिष्ठान, स्वरोजगार, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, विद्यालय र अस्पतालसमेत समेटिनेछन्।
गणनाको पूर्वतयारी चरणका काम फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। चैतदेखि ७७ जिल्लासहित ८४ स्थानमा कार्यालय स्थापना गरी काम अघि बढाइएको छ, जुन असार मसान्तसम्म सञ्चालन हुनेछन्।
यसअघि २०७५ मा गरिएको आर्थिक गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको विवरण सार्वजनिक गरिएको थियो।






