काठमाडौं ।नेपाल वायु सेवा निगम ले काठमाडौँ–ढाका सीधा उडान सुरु गर्ने तयारी अघि बढाएको छ।
निगमले त्यसका लागि सम्भाव्यता अध्ययन गर्न उपसमिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
अपरेसन विभाग निर्देशक तथा वरिष्ठ क्याप्टेन सुवास रिजाल का अनुसार अध्ययन प्रतिवेदनका आधारमा उडानबारे अन्तिम निर्णय गरिनेछ।
छिमेकी देश भए पनि ढाका मा हालसम्म राष्ट्रिय ध्वजावाहकको नियमित उडान हुन सकेको छैन।
यद्यपि बंगलादेशबाट काठमाडौँतर्फ भने उडान भइरहेको छ र निजी क्षेत्रको हिमालयन एयरलाइन्स ले ढाका–काठमाडौँ उडान सञ्चालन गर्दै आएको छ।
यसैबीच निगमले काठमाडौँ–दिल्ली उडान संख्या बढाएको छ। गत चैत १७ देखि थप तीन दिन उडान विस्तार गरेपछि उक्त रुटमा सातामा १० उडान सञ्चालन भइरहेको छ।
कार्गो सेवा सुदृढीकरणका लागि निगमले ‘कार्गो म्यानेजमेन्ट सिस्टम’ अध्ययन गर्न छुट्टै कार्यदल समेत गठन गरेको जनाएको छ।






