रोम — इटाली ले इजरायल सँगको रक्षा सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री जियोर्जिया मेलोनी ले भेरोनामा आयोजित एक कार्यक्रममा हालको परिस्थितिलाई ध्यानमा राख्दै सम्झौताको स्वचालित नवीकरण प्रक्रिया रोक्ने निर्णय गरिएको जानकारी दिइन्।
सन् २००६ मा स्वीकृत उक्त सम्झौता हरेक पाँच वर्षमा स्वतः नवीकरण हुने व्यवस्था थियो।
सम्झौताअन्तर्गत रक्षा उद्योग, सैन्य तालिम, अनुसन्धान तथा प्रविधि आदानप्रदानमा सहकार्य हुँदै आएको थियो।
पछिल्ला हप्ताहरूमा लेबनान मा इजरायली आक्रमण र नागरिकको मृत्यु बढेपछि इटालीले आलोचना गर्दै आएको थियो।
विशेष गरी लेबनानस्थित इटालियन शान्ति सैनिकमाथि इजरायली सेनाले चेतावनीस्वरूप गोली प्रहार गरेपछि दुई देशबीच तनाव बढेको हो।
उक्त घटनामा मानवीय क्षति नभए पनि इटालीका सैन्य सवारी साधनमा क्षति पुगेको बताइएको छ।
घटनापछि इटालीले इजरायली राजदूतलाई बोलाएर आपत्ति जनाएको थियो भने इजरायलले पनि इटालियन राजदूतलाई बोलाएर प्रतिक्रिया दिएको थियो।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानी ले लेबनानमा नागरिकमाथि भएको आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेका छन्।
इटालीको निर्णयले इजरायलले युरोपमा एक महत्वपूर्ण कूटनीतिक तथा सैन्य साझेदार गुमाउने सम्भावना बढेको छ।






