पर्यटनका लागि आशातीत हुन सकेन २०८२‑जेनजी आन्दोलनदेखि मध्यपूर्व तनावको चेपुवा

काठमाडौं — उच्च अपेक्षाबीच सुरु भएको पर्यटन वर्ष २०८२ आशाअनुसार सफल हुन सकेन। कोभिड–१९ पछि विश्व पर्यटन पुनरुत्थानको चरणमा पुगे पनि नेपालमा अपेक्षित सुधार नदेखिएको व्यवसायीहरूले बताएका छन्।

नेपाल पर्यटन बोर्ड ले २०८१ को तुलनामा २०८२ मा पर्यटक आगमन बढ्ने अनुमान गरेको थियो। तर, संख्यात्मक रूपमा समेत उल्लेख्य वृद्धि हुन सकेन।

लक्जरी पर्यटक भित्र्याउने कम्पनी कोर्रा टुर्स का प्रमुख कार्यकारी अधिकृत विजय अमात्य ले अपेक्षाअनुसार पर्यटक नआएको बताए। “वर्षभर पर्यटक संख्या बढ्ने आशा थियो, तर त्यस्तो भएन,” उनले भने।

होटल एसोसिएसन अफ नेपाल का कोषाध्यक्ष युवराज श्रेष्ठ का अनुसार वर्षको सुरुआत सकारात्मक भए पनि बाढी–पहिरो, ‘जेनजी’ आन्दोलन र त्यसपछिका अन्तर्राष्ट्रिय ट्राभल एडभाइजरीले पर्यटनमा नकारात्मक असर पारे। “बुक भएका धेरै पर्यटकले यात्रा रद्द गरे,” उनले भने।

मध्यपूर्वमा बढेको तनावले पनि पर्यटन क्षेत्र प्रभावित भएको व्यवसायीहरू बताउँछन्। उक्त क्षेत्रबाट हुने उडान प्रभावित हुँदा र अन्तिम समयमा होटल बुकिङ रद्द हुँदा समस्या बढेको उनीहरूको भनाइ छ।

आन्तरिक रूपमा पनि राजनीतिक गतिविधि र पर्यटकीय सिजनमै भएको निर्वाचनले पर्यटनमा असर पारेको उनीहरूको भनाइ छ।

यती एयरलाइन्स का अकाउन्टेबल म्यानेजर युवराज विष्ट ले २०८२ हवाई क्षेत्रका लागि पनि सन्तोषजनक नभएको बताए। “विदेशी पर्यटक कम आए, आन्तरिक उडानमा पनि इन्धन मूल्यवृद्धिले सञ्चालन खर्च बढायो,” उनले भने।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश का निर्देशक मणिराज लामिछाने ले समग्रमा वर्ष उत्साहजनक नभए पनि आगामी दिनमा सुधारको अपेक्षा व्यक्त गरे। साताको दुई दिन बिदा कार्यान्वयनले आन्तरिक पर्यटन बढ्ने विश्वास उनले व्यक्त गरे।

उनका अनुसार पछिल्लो समय पोखरा लगायतका क्षेत्रमा भारतबाट आफ्नै सवारी साधनमा आउने पर्यटकको संख्या बढ्दै गएको छ, जसलाई सकारात्मक रूपमा लिनुपर्ने उनले बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *