निर्माण व्यवसायी महासंघमा नयाँ नेतृत्व: निकोलस पाण्डे अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयन भएको छ। महासंघको अध्यक्ष पदमा निकोलस पाण्डे निर्वाचित भएका छन्।

प्रतिस्पर्धात्मक निर्वाचनमा उनले आङदोर्जी लामा लाई पराजित गर्दै ५१४ मतसहित विजय हासिल गरे। लामाले ४१३ मत प्राप्त गरेका थिए।

नव-निर्वाचित अध्यक्ष पाण्डे निर्माण क्षेत्रका सक्रिय र उदाउँदा व्यवसायीका रूपमा चिनिन्छन्। उनी कालिका कन्स्ट्रक्सनका सञ्चालक हुनुका साथै एएसी ब्रिक उत्पादक संघका अध्यक्ष समेत हुन्। युवा उद्यमीका रूपमा स्थापित पाण्डेको नेतृत्वमा कालिका कन्स्ट्रक्सनले देशका विभिन्न ठूला पूर्वाधार परियोजनामा काम गर्दै आएको छ। उनी विक्रम पाण्डे का छोरा पनि हुन्, जो राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता हुन्।

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त निर्वाचित भएका छन्। उनले ४७४ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्दै दोस्रो प्रमुख पदमा स्थान सुरक्षित गरे।

महासचिव पदमा शिवहरि घिमिरे विजयी भएका छन्। उनले ५२७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी बलिभद्र राना लाई पराजित गरे। रानाले ३८० मत प्राप्त गरेका थिए। यसैगरी, नीतिगत उपमहासचिवमा मंगल शाही तथा आन्तरिक उपमहासचिवमा सन्तोस शाह निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयनसँगै महासंघले निर्माण क्षेत्रका नीतिगत सुधार, व्यवसायिक वातावरण सुदृढीकरण र पूर्वाधार विकासमा थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *