काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ।
शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार पार्टीले सरकारको कदमप्रति असहमति जनाउँदै संगठित रूपमा प्रतिवाद गर्ने रणनीति अघि सारेको हो।
एमालेले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोग प्रति असन्तुष्टि जनाउँदै उक्त आयोगलाई अस्वीकार गरेको छ। पार्टीले निष्पक्ष र विश्वसनीय छानबिनका लागि उच्चस्तरीय नयाँ आयोग गठन गर्न माग गरेको छ।
ओली पक्राउपछिको विकसित राजनीतिक परिस्थितिबारे संसदमा रहेका दलहरूसँग संवाद गर्दै सामूहिक प्रतिवादको संयोजन गर्न विष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण विष्ट लगायतका नेताहरूलाई जिम्मेवारी दिइएको एमालेले जनाएको छ।






