काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट शनिबार दिउँसो राजधानीको कलंकी चोकमा आफैँले चलाएको सरकारी गाडी दुर्घटनामा परेका छन् । सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको गाडी लिएर निस्केका भट्ट डिभाइडरमा ठोक्किएपछि ट्राफिक प्रहरीले उनलाई र गाडीलाई नियन्त्रणमा लिएको थियो ।
दुर्घटना शनिबार दिउँसो करिब २ बजे कलंकी चोकस्थित एक डिभाइडरमा ठोक्किंदा भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार भट्टले आफैँले गाडी चलाइरहेका बेला बा७६५४ नम्बरको सरकारी कार अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो ।
दुर्घटनापछि घटनास्थलमा स्थानीयवासी जम्मा भएका थिए । त्यसपछि कलंकीस्थित ट्राफिक प्रहरी तत्कालै घटनास्थलमा पुगेर भट्टलाई उद्धार गर्नुका साथै उनीसहित दुर्घटनाग्रस्त कारलाई नियन्त्रणमा लिएको थियो । दुर्घटनामा परेका भट्ट सामान्य घाइते भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।






