ओली–लेखक पक्राउपछि मधेस प्रदेशमा प्रहरी ‘हाई अलर्ट’

जनकपुर । देशभर विकसित राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल प्रहरी मुख्यालयले मधेस प्रदेशमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि मधेस प्रहरीलाई ‘हाइ अलर्ट’ मा बस्न सर्कुलर जारी गरिएको हो।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलिया का अनुसार शनिबार बिहानदेखि नै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत यस्तो निर्देशन आएको हो। पछिल्लो राजनीतिक गतिविधि र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रदेश तथा मातहतका सबै युनिटलाई सतर्क रहन भनिएको उनले बताए।

उनका अनुसार अहिले सबै राजनीतिक गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्ने काम भइरहेको छ भने ८ वटै जिल्लाका प्रहरी प्रमुखसँग समन्वय गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। हाइ अलर्टसँगै प्रहरीको सक्रियता बढाइएको र जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा समेत स्थगित गरिएको जानकारी दिइएको छ।

करिब सात महिना अघि भएको ‘जेनजी’ आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिसअनुसार ओली र लेखक पक्राउ परेका हुन्। पक्राउको विरोधमा सम्भावित प्रदर्शन र आन्दोलन हुन सक्ने आकलन गर्दै मधेस प्रदेशमा विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

मधेस प्रदेशअन्तर्गत पर्सा जिल्ला, बारा जिल्ला, रौतहट जिल्ला, सर्लाही जिल्ला, महोत्तरी जिल्ला, धनुषा जिल्ला, सिराहा जिल्लासप्तरी जिल्ला गरी ८ जिल्ला पर्छन्, जहाँ व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *