जनकपुर । देशभर विकसित राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल प्रहरी मुख्यालयले मधेस प्रदेशमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि मधेस प्रहरीलाई ‘हाइ अलर्ट’ मा बस्न सर्कुलर जारी गरिएको हो।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलिया का अनुसार शनिबार बिहानदेखि नै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत यस्तो निर्देशन आएको हो। पछिल्लो राजनीतिक गतिविधि र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रदेश तथा मातहतका सबै युनिटलाई सतर्क रहन भनिएको उनले बताए।
उनका अनुसार अहिले सबै राजनीतिक गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्ने काम भइरहेको छ भने ८ वटै जिल्लाका प्रहरी प्रमुखसँग समन्वय गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। हाइ अलर्टसँगै प्रहरीको सक्रियता बढाइएको र जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा समेत स्थगित गरिएको जानकारी दिइएको छ।
करिब सात महिना अघि भएको ‘जेनजी’ आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिसअनुसार ओली र लेखक पक्राउ परेका हुन्। पक्राउको विरोधमा सम्भावित प्रदर्शन र आन्दोलन हुन सक्ने आकलन गर्दै मधेस प्रदेशमा विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
मधेस प्रदेशअन्तर्गत पर्सा जिल्ला, बारा जिल्ला, रौतहट जिल्ला, सर्लाही जिल्ला, महोत्तरी जिल्ला, धनुषा जिल्ला, सिराहा जिल्ला र सप्तरी जिल्ला गरी ८ जिल्ला पर्छन्, जहाँ व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।






