काठमाडौं। फागुन २१ को निर्वाचन दुई तिहाइ नजिक १८२ सिट) ल्याएर सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
रास्वपाले चैत १२ मा गते अपराह्न ४ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।
बैठकमा संसदीय दल नेता चयन गर्ने कार्यसूची बनेको पार्टी प्रवक्ता मनिष झाले बताए। रास्वपाले चुनावअगावै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको थियो। संसद् सचिवालयले नवनिर्वाचित सांसदको पद तथा गोपनीयताको शपथ पनि सोही दिन राखेको छ।
रास्वपा विधानको धारा ६६ (८) को क र खमा संघीय संसदको दल नेता चयनसम्बन्धी व्यवस्था भए पनि बालेन, सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालबीच मतदानबिनै संसदीय दलको नेता भएको घोषणा गर्ने सहमति जुटेको छ।
विधानमा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने र निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्य मतदाता हुन पाउने व्यवस्था छ।
बैठकमा उक्त प्रावधान परिमार्जन गरेर वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता प्रस्ताव गरिने बुझिएको छ।






