मध्यपूर्व युद्धः एसियाली सेयर बजार राताम्य, कच्चा तेलको मूल्य प्रतिब्यारेल १११.२५ डलर

मध्यपूर्वमा इरान, अमेरिका र इजरायलबीचको द्वन्द्व चौथो सातामा प्रवेश गर्दा यसको असर विश्व अर्थतन्त्र हुँदै एसियाली बजारमा देखिएको छ। इरानले खाडी क्षेत्रमा अमेरिकी सैनिक अड्डा तथा पेट्रोलियम पूर्वाधारमा आक्रमण गर्नुका साथै होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गरेपछि तेल आपूर्ति प्रभावित भएको छ।

सोमबार कारोबार सुरु भएलगत्तै एसियाका प्रमुख सेयर बजारमा तीव्र गिरावट आएको छ। जापानको प्रमुख सूचक निक्केई २२५ ४.८ प्रतिशतले घट्दा दक्षिण कोरियाको कोस्पीमा ५.५ प्रतिशतभन्दा बढी गिरावट आएको छ। युद्ध लम्बिने संकेतसँगै लगानीकर्तामा त्रास बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव देखिएको छ। ब्रेन्ट कच्चा तेल प्रतिब्यारेल १११.२५ डलरमा झरेको छ भने अमेरिकी कच्चा तेल ९८.१८ डलर आसपास स्थिर छ।

यसैबीच डोनाल्ड ट्रम्पले इरानलाई होर्मुजको अवरोध हटाउन दिएको ४८ घण्टे समयसीमा सकिँदै गर्दा तनाव झन् चुलिएको छ। इरानले अमेरिकी प्रस्ताव अस्वीकार गर्दै थप आक्रमणको चेतावनी दिएपछि विश्व अर्थतन्त्रमा अनिश्चितता अझ गहिरिने देखिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *