काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभा निर्वाचनमा पराजयपश्चात संसदीय राजनीतिबाट टाढा रहने उद्घोष गरेका छन् । अब आइन्दा कुनै पनि संसदीय चुनावमा भाग नलिने उनको भनाइ छ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले संसदीय राजनीतिबाट सन्यास लिने तर संघर्षको राजनीति जारी राख्ने बताएका हुन् । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने उनले उल्लेख गरेका छन् । यसअघि दुईपटक व्यक्तिगत इच्छाविपरित संसदीय चुनाव लडेको राउतले दाबी गरेका छन् ।
२०७९ सालको निर्वाचनमा आफू नलड्दा पार्टी राष्ट्रिय पार्टी नबन्ने खतरा देखिएपछि साथीहरूको सल्लाहमा निर्वाचन लडेको र त्यसले सकारात्मक परिणाम दिएको उनले स्मरण गरे ।
त्यस्तै, २०८२ को हालैको निर्वाचनमा पनि उम्मेदवार र कार्यकर्ताको मनोबल गिर्न नदिन अन्तिम समयमा मनोनयन दर्ता गरेको तर नतिजा आफ्नो पक्षमा नआए पनि उक्त निर्णयप्रति आफू सन्तुष्ट रहेको उनले बताएका छन्।
यदि आफू नउठेको भए पार्टीको हारको सम्पूर्ण दोष आफूलाई आउने उनको बुझाइ छ। आफू पद र सत्ताको मोहमा फस्नुभन्दा अगाडि नै यो निर्णय लिएको भन्दै राउतले आगामी दिनमा जनमत पार्टीलाई स्थानीय र प्रदेश निर्वाचनको तयारी गराउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व प्रदान गर्ने तर व्यक्तिगत रूपमा कुनै पनि राजकीय पदको दौडमा नरहने उनको भनाइ छ। ‘म सधैँ तपाईंहरूको बिचमा रहनेछु, हरेक मोर्चा र सङ्घर्षमा तपाईंहरूसँगै खडा हुनेछु,’ उनले भनेका छन्।






