वासिङ्टन डिसी । इजरायलसँग मिलेर इरानमाथि आक्रमण सुरु गरेको १५ दिन नपुग्दै अमेरिकाले १२ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ।
ह्वाइट हाउसका मुख्य आर्थिक सल्लाहकार केभिन ह्यासेटले फेब्रुअरी २८ देखि सुरु भएको यो सैन्य कारबाहीमा अहिलेसम्म सो परिमाणको रकम खर्च भएको पुष्टि गरेका हुन्।
सल्लाहकार ह्यासेटले ठुलो रकम खर्च भए पनि यसले अमेरिकी अर्थतन्त्रलाई खासै असर नगर्ने दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर उपभोक्ताहरू त्रसित भइरहँदा उनले भने बजारले छिट्टै यो समस्याको समाधान खोज्ने र तेलको मूल्य घट्ने जिकिर गरे।
विश्वको २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा इरानले अवरोध गर्ने धम्की दिएका कारण बजार अस्थिर बनेको छ।
यद्यपि, सन् १९७० को दशकको तुलनामा अहिले अमेरिका आफैँ ठुलो तेल उत्पादक रहेकाले इरानी गतिविधिले अमेरिकी अर्थतन्त्रलाई धराशायी बनाउन नसक्ने ह्यासेटको तर्क छ।
तर, ट्रम्प प्रशासनले यो युद्धको वास्तविक उद्देश्य पटक–पटक परिवर्तन गरिरहेकाले राजनीतिक वृत्तमा अन्योल छाएको छ।
यसै विषयलाई लिएर विपक्षी नेता चक शुमरले सरकारले युद्धको ठोस कारण दिन नसकेको र हरेक दिन फरक जवाफ दिइरहेको भन्दै आलोचना गरेका छन्।
युद्धका क्रममा १३ अमेरिकी सैनिकले ज्यान गुमाएका छन् भने १४० भन्दा बढी घाइते भएका छन्।
यो लडाइँ लेबनान र खाडी मुलुकसम्म फैलिँदै गएपछि भारत जस्ता देशहरूले आफ्ना ट्याङ्करहरूको सुरक्षाका लागि वासिङ्टनलाई छोडेर सिधै तेहरानसँग वार्ता गर्न थालेका छन्।







