काठमाडौं। नेपालको बैंकिङ क्षेत्र पछिल्लो समय आर्थिक सुस्तता, ऋण असुलीमा आएको दबाब र बजारमा फैलिएको मनोवैज्ञानिक त्रासका कारण चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा चर्चित वाणिज्य बैंकमध्ये एक एनआईसी एशिया बैंकलाई पुनः लयमा फर्काउने जिम्मेवारीसहित सुजित कुमार शाक्यले प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी सम्हालेका छन्।
उनका अनुसार बैंकले अब व्यवसायिक पोर्टफोलियो सन्तुलन, पूँजी व्यवस्थापन, जोखिम नियन्त्रण र डिजिटल रूपान्तरणलाई केन्द्रमा राखेर सुधारको मार्ग अघि बढाएको छ। प्रस्तुत छ – बैंकको रणनीति, आगामी योजना र वित्तीय प्रणालीका चुनौतीबारे अर्थसञ्जाल डटकमले सीईओ शाक्यसँग गरेको कुराकानीको सम्पादित अंश।
एनआईसी एशिया बैंक पछिल्लो समय चुनौतीको बीचमा छ। वर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ ?
पछिल्ला केही वर्षमा एनआईसी एशिया बैंक मात्र होइन, समग्र बैंकिङ प्रणालीले चुनौतीपूर्ण चरण पार गरिरहेको छ। आर्थिक गतिविधि सुस्त हुँदा कर्जाको माग घट्ने, ऋण असुली ढिलो हुने र गैर–निष्पादित कर्जा (NPL) बढ्ने जस्ता दबाबहरू देखिन्छन्। यस्ता परिस्थितिमा कुनै एक बैंक मात्र होइन, समग्र वित्तीय प्रणाली प्रभावित हुन्छ।
एनआईसी एशिया बैंक पनि यही व्यापक आर्थिक परिवेशको प्रभावबाट अछुतो रहन सकेन। तर बैंकसँग अझै बलियो ग्राहक आधार, व्यापक शाखा सञ्जाल र ठूलो निक्षेप आधार छ। त्यसैले अहिले देखिएका चुनौतीलाई हामी संक्रमणकालीन अवस्थाका रूपमा लिन्छौँ।
‘Every setback is a setup for a comeback’ भन्ने भनाइझैं अहिलेको अवस्थालाई हामीले सुधारको अवसरका रूपमा लिएका छौँ। वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र व्यवसायिक पुनर्संरचनामार्फत बैंकलाई पुनः सुदृढ बनाउने दिशामा काम भइरहेको छ।
सुधारका निमित्त के–कस्ता व्यवसायिक रणनीति तय गर्नुभएको छ ? परिवर्तन कसरी हुन्छ ?
विगत ६–७ वर्षमा बैंकले रिटेल र एसएमई बैंकिङमा उल्लेख्य विस्तार गरेको देखिन्छ। नेपालजस्तो अर्थतन्त्रमा एसएमई क्षेत्र रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने महत्वपूर्ण आधार भएकाले त्यो रणनीति आवश्यक थियो। तर कुनै पनि बैंकको पोर्टफोलियो अत्यधिक एकतर्फी हुनु दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन्छ।
त्यसैले अब हामी कर्पोरेट, रिटेल र एसएमई बैंकिङबीच सन्तुलित पोर्टफोलियो निर्माण गर्ने रणनीतिमा छौँ। यसले जोखिम विविधीकरण गर्न मद्दत गर्छ। साथै, उद्योग, पूर्वाधार, व्यापार वित्त (trade finance) जस्ता क्षेत्रमा पनि बैंकको सहभागिता बढाउने योजना छ।
हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाएका छौँ। अल्पकालीन रूपमा ऋणको गुणस्तर सुधार र रिकभरीमा ध्यान छ भने मध्यकालीन रूपमा व्यवसाय विस्तार र पोर्टफोलियो सन्तुलनमा जोड दिइनेछ। दीर्घकालीन रूपमा बैंकलाई डिजिटल, दक्ष र टिकाउ वित्तीय संस्थाका रूपमा विकास गर्ने लक्ष्य छ।
बैंकले पूँजी व्यवस्थापनका लागि कस्ता योजना बनाएको छ?
बैंकिङ व्यवसायमा पूँजी पर्याप्तता अत्यन्त महत्वपूर्ण हुन्छ। नियामक निकायले तोकेको पूँजी पर्याप्तता अनुपात कायम राख्दै व्यवसाय विस्तार गर्न पूँजी व्यवस्थापन आवश्यक हुन्छ।
त्यसैले हामीले १:१ को अनुपातमा आग्राधिकार सेयर (rights share) जारी गर्ने योजना बनाएका छौँ। यसले बैंकको कोर क्यापिटल बढाउनेछ। त्यस्तै, करिब ५ अर्ब रुपैयाँ बराबरको पर्पेचुअल प्रिफरेन्स सेयर ल्याउने तयारी पनि भइरहेको छ।
यस्ता पूँजी उपकरणहरूले बैंकलाई दीर्घकालीन स्रोत उपलब्ध गराउने मात्र होइन, नियामकीय पूँजी पर्याप्तता पनि सुदृढ बनाउँछन्। पूँजी बलियो हुँदा बैंकले सुरक्षित रूपमा कर्जा विस्तार गर्न सक्छ, जसले समग्र वित्तीय प्रणालीलाई पनि स्थिर बनाउँछ।
आम्दानीका स्रोत विविधीकरण कसरी गर्ने योजना छ ?
नेपालका अधिकांश बैंकहरूको आम्दानी अझै पनि कर्जाबाट आउने ब्याज आम्दानीमा धेरै निर्भर छ। तर अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने बैंकहरूले fee-based income अर्थात् गैर–ब्याज आम्दानीको हिस्सा बढाउँदै गएका छन्। हामीसँग अहिले करिब ४० लाख ग्राहक आधार छ। यो ठूलो अवसर हो। डिजिटल सेवा, कार्ड सेवा, रेमिट्यान्स, व्यापार वित्त, बैंक ग्यारेन्टी, एलसी सेवा जस्ता माध्यमबाट शुल्क आधारित आम्दानी बढाउन सकिन्छ।
त्यसका साथै कर्पोरेट बैंकिङ र ट्रेड फाइनान्सलाई पनि प्राथमिकता दिने योजना छ। यसले बैंकको आम्दानीलाई स्थिर र विविध बनाउनेछ, जसले भविष्यमा ब्याजदर चक्र वा आर्थिक उतारचढावको प्रभाव कम गर्न मद्दत गर्छ।
बैंकिङ क्षेत्रमा जोखिम व्यवस्थापन कत्तिको चुनौतीपूर्ण छ ?
बैंकिङ व्यवसाय मूलतः जोखिम व्यवस्थापनमै आधारित हुन्छ। निक्षेपकर्ताको पैसा सुरक्षित राख्दै ऋण प्रवाह गर्नु नै बैंकको मुख्य जिम्मेवारी हो। हालको आर्थिक परिवेशमा व्यवसायहरू दबाबमा हुँदा ऋणको गुणस्तरमा असर पर्न सक्छ। त्यसैले जोखिम पहिचान, मूल्यांकन र नियन्त्रण अत्यन्त महत्वपूर्ण हुन्छ।
हामीले ऋण मूल्यांकन प्रणालीलाई अझ सुदृढ बनाउने, प्रारम्भिक चेतावनी प्रणाली (early warning system) प्रयोग गर्ने र समस्या देखिएका कर्जामा समयमै हस्तक्षेप गर्ने नीति अपनाएका छौँ। बैंकिङ क्षेत्रमा सुधार रातारात सम्भव हुँदैन। तर क्रमिक रूपमा जोखिम व्यवस्थापन सुधार गर्दै जाँदा आगामी दुई वर्षभित्र उल्लेखनीय सकारात्मक परिणाम देखिने विश्वास छ।
सञ्चालन खर्च घटाउनेतर्फ बैंकले के कदम चाल्दैछ ?
बैंकिङ व्यवसायमा लागत नियन्त्रण अत्यन्त महत्वपूर्ण हुन्छ। अनावश्यक खर्च बढ्दा नाफा घट्ने मात्र होइन, प्रतिस्पर्धात्मक क्षमता पनि कमजोर हुन्छ। कोभिड–१९ पछि बैंकिङ कारोबारको स्वरूप धेरै परिवर्तन भएको छ। धेरै ग्राहक डिजिटल माध्यमबाट कारोबार गर्न थालेका छन्। शाखामा आउने ग्राहकको संख्या घटेको छ।त्यसैले महानगर क्षेत्रमा केही शाखाहरूलाई एकीकृत गर्ने वा मर्ज गर्ने योजना बनाइएको छ। यसले भौतिक संरचना र सञ्चालन खर्च घटाउन मद्दत गर्नेछ। साथै डिजिटल माध्यम विस्तार गर्दा लागत पनि घट्नेछ र सेवा पनि छिटो हुनेछ।
शाखा घटाउँदा कर्मचारी पनि घटाउनु पर्छ, यसको व्यवस्थापन कसरी गर्नुहुन्छ?
हामी खर्च घटाउने नाममा कर्मचारी कटौती गर्ने सोचमा छैनौँ। बैंकको सबैभन्दा ठूलो सम्पत्ति भनेको मानव स्रोत नै हो। यदि केही शाखा एकीकृत गरियो भने त्यहाँका कर्मचारीलाई अन्य व्यवसायिक क्षेत्र, डिजिटल सेवा, ग्राहक सेवा वा नयाँ परियोजनाहरूमा व्यवस्थापन गर्ने योजना छ। यसले एकातर्फ कर्मचारीको अनुभवलाई उपयोग गर्न मद्दत गर्छ भने अर्कोतर्फ बैंकको सेवा क्षमता पनि बढाउँछ।
डिजिटल बैंकिङ र एआई प्रयोगबारे बैंकको योजना के छ ?
डिजिटल बैंकिङ अहिले बैंकिङ उद्योगको भविष्य मात्र होइन, वर्तमान आवश्यकता पनि हो। ग्राहकहरू छिटो, सहज र सुरक्षित सेवा चाहन्छन्। हामीले बैंकका आन्तरिक प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने काम अघि बढाएका छौँ। कागजी प्रणाली हटाउँदै ई–मेमो प्रणाली लागू गरिसकेका छौँ।
आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर जोखिम विश्लेषण, ग्राहक सेवा, फ्रड डिटेक्सन र डेटा विश्लेषणलाई अझ प्रभावकारी बनाउने योजना छ। डिजिटल रूपान्तरणले बैंकलाई दक्ष, पारदर्शी र प्रतिस्पर्धी बनाउने विश्वास छ।
नयाँ व्यवसाय विस्तारका सम्भावना के देख्नुहुन्छ ?
अहिलेको प्राथमिकता भनेको पहिलेको कर्जा रिकभरी सुधार गर्नु हो। जब ऋण असुली सुधार हुन्छ, त्यसपछि नयाँ व्यवसाय विस्तारको आधार बलियो हुन्छ। हामी पूँजी कम लाग्ने तर बजारमा माग भएको क्षेत्रमा ध्यान दिनेछौँ। रिटेल पोर्टफोलियो विस्तार, गोल्ड लोन, साना व्यवसायलाई लक्षित कर्जा जस्ता योजनाहरू ल्याउने तयारी भइरहेको छ। यस्ता उत्पादनहरूले जोखिम पनि सन्तुलित राख्छन् र आम्दानी पनि स्थिर बनाउँछन्।
एसएमई क्षेत्रमा बैंकको स्थिति कस्तो छ ?
बैंकको करिब ३५ प्रतिशत व्यवसाय एसएमई क्षेत्रमा केन्द्रित छ। नेपालको अर्थतन्त्रमा एसएमई क्षेत्र निकै महत्वपूर्ण छ किनकि यसले ठूलो मात्रामा रोजगारी सिर्जना गर्छ। अहिले केही एसएमई व्यवसायहरू आर्थिक सुस्तताका कारण दबाबमा छन्। तर हाम्रो average ticket size करिब ५० लाख रुपैयाँ भएकाले जोखिम अत्यधिक ठूलो छैन। साथै, हामी एसएमई ग्राहकसँग नजिकबाट काम गर्दै व्यवसाय पुनरुत्थानमा सहयोग गर्ने प्रयास गरिरहेका छौँ।
कर्पोरेट बैंकिङमा बैंकको रणनीति के हुनेछ ?
कर्पोरेट बैंकिङमा हामी आक्रामकभन्दा सन्तुलित रणनीति अपनाउनेछौँ। कर्पोरेट क्षेत्रमा ठूलो ऋण प्रवाह गर्दा जोखिम पनि उच्च हुन सक्छ, त्यसैले सावधानी आवश्यक हुन्छ। हाल बैंकको पोर्टफोलियो करिब २२० अर्ब रुपैयाँमाथि छ। आगामी दिनमा राम्रो परियोजना छनोट, कडा जोखिम मूल्यांकन र रिकभरी सुधारमार्फत यसलाई गुणस्तरीय रूपमा विस्तार गर्ने लक्ष्य छ।
अन्त्यमा, निक्षेपकर्ता र लगानीकर्तालाई के भन्न चाहनुहुन्छ ?
बैंकको पहिलो दायित्व निक्षेपकर्ताको रकम सुरक्षित राख्नु हो। बैंकिङ प्रणाली मूलतः विश्वासमा आधारित हुन्छ। यदि विश्वास कमजोर भयो भने त्यसको असर केवल एउटा बैंकमा मात्र होइन, समग्र वित्तीय प्रणालीमा पर्न सक्छ। त्यसैले बैंकिङ क्षेत्रमा अनावश्यक हल्ला वा त्रास फैलाउने प्रवृत्ति दीर्घकालीन रूपमा कसैका लागि पनि लाभदायक हुँदैन।
एनआईसी एशिया बैंक नियामकीय मापदण्ड र जोखिम व्यवस्थापनका स्थापित प्रक्रियाअनुसार सञ्चालन भइरहेको छ। निक्षेपकर्ताको रकम सुरक्षित राख्नु र उनीहरूको विश्वास कायम राख्नु हाम्रो पहिलो प्राथमिकता हो। त्यसका लागि पूँजी सुदृढीकरण, ऋणको गुणस्तर सुधार, जोखिम व्यवस्थापन र सञ्चालन दक्षता बढाउने कामलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, लगानीकर्ताका लागि पनि बैंकले दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्य राखेको छ। बैंकको व्यवसायिक रणनीति पुनर्संरचना गर्दै आम्दानीका स्रोत विविधीकरण, लागत नियन्त्रण र डिजिटल रूपान्तरणमार्फत संस्थालाई अझ सक्षम बनाउने दिशामा काम भइरहेको छ।
हामी विश्वास दिलाउन चाहन्छौँ कि बैंकलाई अझ बलियो, पारदर्शी र दिगो वित्तीय संस्थाका रूपमा विकास गर्ने दिशामा व्यवस्थापन पूर्ण रूपमा प्रतिबद्ध छ। सुधारका लागि आवश्यक संरचनात्मक परिवर्तनहरू क्रमशः लागू हुँदै गएका छन् र आगामी दिनमा यसको सकारात्मक परिणाम देखिने विश्वास हामीले गरेका छौँ।
तसर्थ, ग्राहक- निक्षेप्कर्ता -लगानीकर्तालगायत सरोकारवाला सम्पूर्णमा धैर्य एवम् विश्वास कायम राख्न आग्रह गर्दै बैंकको दीर्घकालीन स्थायित्व र विश्वासलाई अझ सुदृढ बनाउने हाम्रो प्रयास निरन्तर जारी रहने प्रतिवद्धता जनाउन चाहन्छु।
।







