काठमाडौं। नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएको छ।
सभापति गगनकुमार थापाले बिहीबार बेलुकी विज्ञप्ति जारी गरी निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका हुन्।
उनले भनेका छन्, ‘प्रतिनिधिसभा निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ।’
उनले जनताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईँहरूको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको उल्लेख गरेका छन्।
उनले निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गरेका छन्।
साथै, कांग्रेसले निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दलहरू, सञ्चारकर्मी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेको छ।







