बुटवल। रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–७ निवासी ४८ वर्षीय यादवलाई बैंकिङ कसुर मुद्दामा अदालतको आदेश कार्यान्वयनका लागि नियन्त्रणमा लिइएको हो।
सम्मानित चितवन जिल्ला अदालतले २०८१ मंसिर २५ गते गरेको फैसलाबमोजिम यादवलाई तीन लाख रुपैयाँ जरिवाना तथा बैंकिङ कसुर सम्बन्धी सजाय तोकिएको थियो। अदालतको आदेश कार्यान्वयनका लागि उपस्थित नगरिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार यादवलाई सिद्धार्थनगर नगरपालिका–६ स्थित गलामण्डी क्षेत्रबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले अदालतको आदेशअनुसार प्रतिवादीलाई नियन्त्रणमा लिइ अदालतमा पेश गरिएको जानकारी दिए।






