काठमाडौँ। देशमा बढ्दो राजनीतिक अस्थिरता र जटिल भू–राजनीतिक परिस्थितिबीच राष्ट्रिय अस्तित्व जोगाउन राजसंस्था र राष्ट्रवादी शक्तिहरूबीच एकता आवश्यक रहेको प्रबुद्ध व्यक्तिहरूले बताएका छन्।
आइतबार काठमाडौँमा ‘सत्य र न्यायको खोजी अभियान’ तथा ‘पूर्व न्यायाधीश फोरम’द्वारा आयोजित विचार गोष्ठीमा सहभागीहरूले वर्तमान परिस्थितिमा दलभन्दा माथि उभिएर राष्ट्रलाई अभिभावकीय नेतृत्व दिन सक्ने संस्था राजसंस्था नै हुन सक्ने धारणा राखेका हुन्।
गोष्ठीमा वक्ताहरूले नेपाल दुई शक्तिशाली छिमेकी राष्ट्रबीच रहेको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सन्तुलित कूटनीति र असंलग्न परराष्ट्र नीति कायम गर्न राजाको भूमिका महत्वपूर्ण हुन सक्ने उल्लेख गरे। राष्ट्रहितलाई केन्द्रमा राखेर वैकल्पिक राजनीतिक निकास खोज्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ थियो।
सत्य र न्यायको खोजी अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र पूर्व न्यायाधीश फोरमका तर्फबाट पूर्वन्यायाधीश टोपबहादुर सिंहले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमार्फत वर्तमान राष्ट्रिय अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। विज्ञप्तिमा देशलाई भू–राजनीतिक दबाबबाट जोगाउन सन्तुलित नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ।
गोष्ठीले नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रिय संकटका बेला सेनाको संस्थागत क्षमता अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। साथै, गणतन्त्र स्थापना पश्चात् वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप र अनुभव देशभित्र उपयोग गर्न नसकिएको तथा सार्वजनिक ऋण बढ्दै गएको भन्दै वर्तमान व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गरिएको छ।
कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा भएको हिंसा, सार्वजनिक सम्पत्तिमा भएको क्षति तथा हत्याका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकार असफल भएको आरोप समेत लगाइएको छ। सहभागीहरूले संवेदनशील समयमा पारदर्शिता बिना गरिन लागेको आम निर्वाचनले दीर्घकालीन समाधान दिन नसक्ने निष्कर्ष निकालेका छन्।
यी हुन अभियानका मुख्य मागहरू:
मुलुकको वर्तमान संकट समाधानका लागि सर्वपक्षीय राष्ट्रिय भेला आह्वान गरिनुपर्ने।
आन्दोलनका क्रममा भएका हिंसा तथा ध्वंसका योजनाकारमाथि कानुनी कारबाही गरिनुपर्ने।
राष्ट्रहितविपरीत गतिविधि रोक्न अन्तरिम सरकार जिम्मेवार बन्नुपर्ने।







