समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको बैंक खाता र सम्पत्ति रोक्का

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १३ हजार ऋणी सदस्यको चलअचल सम्पत्ति, बैंक खाता र सेयर रोक्का गरेको छ। बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम असुलीका लागि उक्त कदम चालिएको कार्यालयले जनाएको छ।

समिति गठनदेखि हालसम्म २३ सहकारी संस्था जिम्मेवारीमा आएकोमा तीन सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी गरी राफसाफ भएको छ । बाँकी २० सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी कार्य गर्दै आएको छ ।

समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्यसम्पादन गर्ने सिलसिलामा ७४ हजार ३ सय ७ जनाबाट ४४ अर्ब ४८ करोड ९० लाख ५ हजार ६ सय २६ रुपैयाँ रकम बचत मागदाबी पेस हुन आएकोमा ४ अर्ब १२ करोड ६६ लाख ५ हजार ६ सय ५४ रुपैयाँ बचत फिर्ता र मिलान कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अपर्याप्त पूँजी, उच्च असुली नहुने कर्जा र अभिलेख व्यवस्थापनको कमजोरीका कारण बचत पूर्णरूपमा फिर्ता गर्न कठिन भएको हो। अचल सम्पत्ति मूल्यांकन र मौद्रिक कारोबार प्रक्रिया जटिल हुँदा ऋण असुली प्रभावकारी बनाउन चुनौती देखिएको छ।

कर्मचारी अभाव, सरुवा समस्या, अभिलेख लुकाउने प्रवृत्ति, गलत सूचना र कानुनी जटिलताले प्रक्रिया ढिलो भएको कार्यालयको भनाइ छ। यसले पीडित बचतकर्तालाई समयमै न्याय दिन अझै समय लाग्ने संकेत गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *