काठमाडौं। पाल्पा सिमेन्ट इन्डस्ट्रिजले सर्वसाधारणलाई फागुन १२ देखि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोडको २० प्रतिशत अर्थात् ७५ करोड बराबरको ७५ लाख कित्ता सेयर निष्कासन अनुमति पाएको थियो।
यसमध्ये जारी पुँजीको १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो।
त्यस्तै, २ लाख ८१ हजार २५० कित्ता साधारण सेयर सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि बाँडफाँट गरेको छ।
कम्पनीले बाँकी रहेको ४५ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गर्नेछ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने ढिलोमा फागुन २६ मा हुनेछ।
यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।






