काठमाडौं। रिज लाइन इनर्जीले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन तथा बिक्री खुलाएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १८ करोड ५० लाखको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्कासन अनुमति पाएको छ।
यसमध्ये ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र १ लाख ४२ हजार २०० कित्ता विदेश रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेर बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा २८ हजार ४४० कित्ता कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषका निम्ति छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व वहन क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सीआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।






