काठमाडौं । वालेन्द्र साहको चुनावी अभियानमा खटिएका अछाममा अचेत भएका सञ्चारकर्मी दिनेश सिटौलाको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी नआएको भन्दै उनका आफन्त आक्रोसित बनेका छन्।
आफन्तका अनुसार दिउँसो १२ बजे बालेन्द्र साह अस्पताल पुगेर भोलि बिहान ७ बजेसम्म पर्खिन भनेपछि अस्पतालले थप जानकारी दिएको छैन। उनीहरूले अस्पतालले बिरामीको वास्तविक अवस्था सार्वजनिक नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
अस्पतालमै रहेका चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले बिरामीको अवस्था गम्भीर रहेको बताएका छन्। उनका अनुसार सिटौलाका दाइले बिरामीको अवस्था प्रत्यक्ष देखिसकेको भए पनि अस्पतालले औपचारिक रूपमा केही बताएको छैन।
सिटौलाका भाइ उमेशले अस्पतालले दिउँसो ३ बजेसम्म वास्तविक अवस्था बताउने आश्वासन दिएको तर पछि जानकारी नदिएको बताए। उनले अस्पतालले आफैंले जानकारी दिनुपर्ने कि राजनीतिक नेतृत्वमार्फत् जानकारी आउने भन्ने अन्योल सिर्जना भएको आरोप लगाए।
४३ वर्षीय सिटौला नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका स्थायी बासिन्दा हुन्। हाल उनको उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।






