काठमाडौं । कुमारी बैंक लिमिटेडले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कर्जा नोक्सानी व्यवस्थामा आएको कमी र खुद ब्याज तथा फि आम्दानीमा भएको वृद्धिले बैंकको नाफा उल्लेख्य रूपमा बढेको छ ।
पछिल्ला तीन आर्थिक वर्षदेखि दबाबमा रहेको बैंकको वित्तीय अवस्था गत आर्थिक वर्षको अन्तिम त्रैमासदेखि क्रमिक रूपमा सुधार हुँदै गएको देखिन्छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८६.६२ प्रतिशत अर्थात झन्डै १० गुणा बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यसैगरी बैंकको खुद ब्याज आम्दानी २७.६५ प्रतिशत बढेर ६ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ३१ करोड ४० लाख रुपैयाँ थियो । यस्तै, फि तथा कमिसन आम्दानी २६.६५ प्रतिशत बढेर १ अर्ब ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
कुल सञ्चालन आम्दानी ३०.०६ प्रतिशत बढेर ९ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँबाट घटेर १ अर्ब ५० करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा ५०५.११ प्रतिशत बढेर ४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा २ रुपैयाँ १० पैसा थियो । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ८.६३ गुणा रहेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ८६ करोड २३ लाख रुपैयाँ रहेको छ ।
बैंकको सञ्चित नोक्सानी गत असार मसान्तमा ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा यो घटेर २ अर्ब ९८ करोड ७२ लाख रुपैयाँमा झरेको छ ।
यस अवधिसम्ममा २६ अर्ब २२ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ छ । गत असार मसान्तमा ३ खर्ब ६४ अर्ब ६४ करोड रुपैयाँ रहेको निक्षेप पुस मसान्तसम्म ३ खर्ब ७१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । कर्जा पनि २ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँबाट बढेर २ खर्ब ६५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा अनुपात गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६.९६ प्रतिशत रहेकोमा समीक्षा अवधिमा ६.९२ प्रतिशत कायम भएको छ । प्राथमिक पुँजीकोष अनुपात ७.२३ प्रतिशतबाट बढेर ८.९३ प्रतिशत पुगेको छ भने आधार दर ५.६० प्रतिशत रहेको छ ।







