महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको निम्तो

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्ता तथा युवा समाजका अगुवाहरूले महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचनमा उम्मेदवारी दिन बालेन शाहलाई निम्तो दिएका छन् ।

अनिल पाण्डे, विजय विनीत पाण्डे लगायत दर्जनौँ व्यक्तिहरूले बालेन शाहलाई भेटेर चुनाव लड्न आग्रह गरेका हुन् ।काठमाडौँस्थित ज्वागलमा रहेका कुमार व्यञ्जनकारको निवासमा बालेन शाहसँग भेट गरी आफूहरुले उक्त निम्तो दिएको पाण्डेले बताए ।

भेटका क्रममा करिब एक घण्टा लामो छलफल भएको थियो ।पाण्डेले छलफलका क्रममा महोत्तरी क्षेत्र नम्बर ३ को वस्तुस्थिति जानकारी गराउँदै सो क्षेत्रले बालेन शाहलाई खोजेको बताए ।

बालेन शाहको पैत्रिक गाउँ समेत महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने एकडारा गाउँपालिका भएकाले यस क्षेत्रका जनताले आफ्नै पुर्खौली भूमिबाट निर्वाचन लड्न आग्रह गरिरहेको कुरा उनले बालेनलाई जानकारी गराएका थिए ।

झापाबाट बालेन शाह निर्वाचन लड्ने चर्चा भइरहे पनि महोत्तरी क्षेत्र नम्बर ३ पनि आफ्नो प्राथमिकतामा रहेको बालेनले बताएको पाण्डेले जानकारी दिए ।

उनका अनुसार माघ ५ गते महोत्तरीको पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा बालेन शाह र पार्टी सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रम तय भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *