काठमाडौँ । सरकारले पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।
यो अवधिमा संकलित राजस्व रकम लक्ष्यको तुलनामा करिब १ खर्ब ३० अर्ब रुपैयाँ कम भएको अर्थ मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य सरकारको छ। हालसम्म संकलित राजस्व वार्षिक लक्ष्यको करिब ३९ प्रतिशत हो ।
आयकरको दोस्रो किस्ता बुझाउने समय भएकोले पुस महिनालाई राजस्व सङ्कलनका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ, त्यसैले अरू महिनाको तुलनामा त्रैमासको अन्तिम महिनामा बढी राजश्व उठ्छ ।
पुस महिनाको अवधिमा मात्रै सरकारले १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ सङ्कलन गरेको छ । यो महिनामा १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको थियो ।
लक्ष्यको तुलनामा राजस्व संकलन ८९।९६ प्रतिशत हो । बुधबार अर्थात् पुस ३० गते मात्रै सरकारी खातामा २० अर्ब २६ करोड रुपैयाँ राजस्व दाखिला भएको देखिन्छ ।गत वर्ष पुस मसान्तसम्म सरकारले ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो ।
गत वर्षको वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेकोमा पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ तोकिएको थियो ।गत वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो ।
यससँग तुलना गर्दा गत वर्षको पुस महिनाको तुलनामा यस वर्षको पुस महिनामा राजस्व सङ्कलन १० अर्ब रुपैयाँले बढेको देखिन्छ भने ६ महिनाको समग्र सङ्कलनमा पनि १४ अर्ब रुपैयाँभन्दा बढीको सुधार देखिएको छ।
अब सरकारले वार्षिक लक्ष्य पूरा गर्न आगामी ६ महिनामा करिब ९ खर्ब रुपैयाँ सङ्कलन गर्नुपर्ने अवस्था छ ।






