एमफिल र स्नातकोत्तर शोधकर्तालाई कामना सेवा विकास बैंकको अनुदान

काठमाडौँ । कामना सेवा विकास बैंकले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ।

बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गर्दै गरेका दुई जना शोधकर्ता विद्यार्थीलाई बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विषयमा शोध गर्न जनही एक लाख रुपैयाँका दरले अनुदान दिनेछ।

यस्तै, व्यवस्थापन, अर्थशास्त्र तथा कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका चार जना शोधकर्ता विद्यार्थीलाई बैंकिङ, अर्थतन्त्र तथा सूचना–प्रविधिसँग सम्बन्धित विषयमा शोध गर्न जनही ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ।

अनुदानका लागि सम्बन्धित कलेजको सिफारिससहित १४ मार्च २०२६ भित्र बैंकमा शोध प्रस्ताव पेस गर्नुपर्नेछ।

विज्ञ सम्मिलित छनोट समितिले अनुदान प्राप्त गर्ने विद्यार्थीको छनोट गर्ने बैंकले जनाएको छ। शोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रमाणित गर्न सकिने तथ्यांकमा आधारित र मौलिक हुनुपर्नेछ।

एमफिल र स्नातकोत्तर तहका शोधकर्ता विद्यार्थीलाई सहयोग पुग्ने उद्देश्यले अनुदान व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वविद्यालय तथा कलेजका विद्यार्थीलाई शोध तथा अनुसन्धानका लागि फेलोसिप तथा रिसर्च ग्रान्ट दिन सक्ने व्यवस्था गरेपछि बैंकले यो कार्यक्रम सुरु गरेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *