काठमाडौं। अमेरिका घुमेर फर्किएपछि मात्रै राजीनामा दिने अडान लिँदै आएका मन्त्री बब्लु गुप्तासहित पार्टी गतिविधिमा सक्रिय मन्त्रीहरूलाई पदबाट हट्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएपछि तीनवटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन्।
मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री कार्कीले घिसिङ, गुप्ता र जगदीश खरेललाई राजीनामा दिन आग्रह गरेकी थिइन्। सोही निर्देशनपछि घिसिङले तत्काल पद त्यागेका हुन्।
मन्त्री खरेलले भने आफू कुनै पनि दलमा आबद्ध नभएको र चुनावमा उठ्ने योजना पनि नरहेको स्पष्ट पार्दै राजीनामा नदिने अडान लिएका छन्।
तर, मन्त्री गुप्ता भने तत्काल राजिनामा नदिने सुरुमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यक्रममा सक्रिय रुपमै देखिएका गुप्ता प्रधानमन्त्रीले राजिनामा दिन भनेपनि भ्रमणबाट फर्किएपछि मात्र राजीनामा दिने मनस्थितिमा पुगेको उनी निकट स्रोतले जानकारी दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकताको सहमति हुँदा गुप्ता पनि सँगै देखिएका थिए। उनी आगामी निर्वाचनमा चुनाव लड्ने गुप्त सहमति भएको बताईएको छ।
यता मन्त्रिपरिषद् बैठकले गुप्ताको अमेरिका भ्रमण स्वीकृत गरिसकेको छ। रातो पासपोर्ट र सरकारी सुविधामा एकपटक अमेरिका पुगेर फर्किएपछि राजीनामा दिने तयारी उनले गरेका छन्।
बैठकमा उनी आँफैले प्रस्ताव लगेपछि उनलाई आगामी माघ ३ गतेदेखि अमेरिकामा हुने कार्यक्रममा जान अनुमति दिइएको थियो।






