राजस्व चुहावटका कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल

काठमाडाैं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गरेका हुन्। उनले झोलेपोके तस्करीलाई बाटोमा समात्नेभन्दा पनि जहाँ पुर्‍याइन्छ सोही ठाउँबाट नियन्त्रण लिन सरोकारवाला निकायलाई निर्देशन दिए।

‘दैनिक गुजरा चलाउनका लागि सरसमान ल्याउने र तस्करी गर्नेबीच छुट्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि अनुरोध गर्दछु’, अर्थमन्त्री खनालले भने। राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने उनले धारणा व्यक्त गरे।

‘सबै निकाय एउटै हौँ। परस्पर प्रतिस्पर्धी होइनौँ। राजस्वको जिम्मेवारी अर्थमन्त्रालयको मात्रै नभएर राज्यका सबै निकायको हो। त्यसैले हातेमालो गरेर काम गर्न जरुरी छ’, मन्त्री खनालले भने, ’राजस्व चुहावटमा देखिएका कमीकमजोरी संयुक्त रूपमा मिलेर समाधान गर्नका लागि निर्देश गर्दछु।’

अर्थमन्त्री खनालले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकार भएका सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए। ‘तीनवटै सुरक्षा निकायले पनि सूचना समन्वयमा सहकार्य गर्न जरुरी छ’, उनले भने, ‘सुरक्षा निकायबाट बरामदी लक्ष्य बढाउने विषय पनि त्यति राम्रो होइन। सोतर्फ ध्यान दिन आग्रह गर्दछु।’

अर्थमन्त्री खनालले सीमामा बस्ने कर्मचारी तथा राजस्वसँग सम्बन्धित कर्मचारीहरूले सेवाग्राहीसँग बोली र व्यवहारमा नम्र र सभ्य व्यवहार गर्नुपर्ने बताए।

‘अहिले काम गर्नका लागि कुनै पनि राजनीतिक दबाब र प्रभाव नआउने भएकाले पनि सही ढङ्गले कार्यसम्पादन गर्न अनुरोध गर्दछु’, उनले भने, ‘राजस्व चुहावट नियन्त्रणमा सक्रिय भई लाग्न निर्देश गर्दछु।’

सेवाग्राहीका लागि हामी खटिएकाले उनहरूको भावनाअनुसार काम गर्न सबै कर्मचारीलाई उनले आह्वान गरे। अर्थमन्त्रालयका महाशाखा प्रमुख उत्तरकुमार खत्रीले चोरीतस्करी नियन्त्रण गर्ने अहिले उपयुक्त समय भएको बताए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *