काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको मुनाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ ऋणात्मक देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको मुनाफा १९ करोड ८२ लाख २० हजार थियो।
असोजसम्म बैंकको खुद ब्याज आम्दानी भने ११.२४ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ४९ करोड ७८ लाख थियो।
बैंंकको सञ्चालन नाफा ३७ करोड १८ लाख ५४ हजार रुपैयाँ ऋणात्मक छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २८ करोड २९ लाख ७१ हजार थियो। सञ्चालन नाफा घट्दा खुद मुनाफामा समेत प्रभाव परेको हो।
चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रहेको बैंकको जगेडा कोषमा ४१ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ भने रिजर्भ कोषमा ८ अर्ब २८ करोड सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४१ करोड ४७ लाख ७८ हजार ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्ता नाफा नाफा ६७ करोड ८४ लाख ९४ हजार थियो।
यस्तै, खराब कर्जा ५.४१ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत, प्रतिसेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १५३.३० रुपैयाँ छ।






