काठमाडौँ। नेपाल प्रहरीले ७०औं प्रहरी दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई विशेष सम्मान प्रदान गरेको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा श्रेष्ठलाई प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सम्मान पत्र प्रदान गरे। उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुनर्निर्माणमा एनआरएनएले उल्लेखनीय सहयोग पुर्याएपछि उनलाई सम्मान गरिएको हो।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा क्षतिग्रस्त बनेको ट्राफिक कार्यालयको पुनर्निर्माणमा एनआरएनएले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो। अध्यक्ष श्रेष्ठले सडक सुरक्षाका क्षेत्रमा एनआरएनएको योगदान उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
एनआरएनए उपाध्यक्ष मनोजकुमार श्रेष्ठका अनुसार, करिब ८० लाख लागतमा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आवश्यक उपकरणहरू जडान गर्ने काम भइरहेको र केही दिनमै सो कन्ट्रोल रुम ट्राफिक प्रहरीले प्रयोगमा ल्याउन सक्ने जानकारी दिइएको छ।
सम्मान समारोहमा एनआरएनएका पूर्व अध्यक्षहरू विनोद कुँवर, राजेन्द्रकुमार (आरके) शर्मा, पूर्व महासचिव जानकी गुरुङ, वर्तमान कार्यसमिति उपाध्यक्षहरू मनोजकुमार श्रेष्ठ, विश्वदीप तिगेला, महासचिव बाबुराम (बीआर) लामा, सचिव तिलक गैरे, महिला संयोजक रश्मी थापा, युवा संयोजक भिमसेन थापा, युवा उद्यमी तथा समाजसेवी नारायण भण्डारी, विपद् व्यवस्थापन समितिका सदस्यसचिव धर्मराज गिरी, कार्यकारी निर्देशक रविकिरण अधिकारी, सञ्चारकर्मी विवश काफ्लेसहित थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।






