संसद्लाई अस्वीकार गर्ने प्रयास मान्य हुँदैन : महेश बर्तौला

काठमाडौँ । नेकपा (एमाले) का सांसद महेश बर्तौलाले संवैधानिक मार्ग बाहिरबाट कुनै कदम चालिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सचेत गराएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता बर्तौलाले संवैधानिक प्रक्रियाअनुसार जोसुकै व्यक्ति वा दल प्रधानमन्त्री बने पनि आफूहरूलाई स्वीकार्य हुने तर जनताको मतबाट निर्वाचित संसद्लाई अस्वीकार गर्ने कुनै पनि प्रयास मान्य नहुने स्पष्ट पारेका हुन्।

‘सार्वभौम नेपाली जनताको विवेकको मतबाट निर्वाचित संसद्लाई अस्वीकार गरेर संविधान विरोधी, व्यवस्था विरोधी, लोकतन्त्र विरोधी, देशद्रोही र विदेशीहरुको कठपुतलीलाई देश सुम्पने महागल्ती नगरियोस्,’ बर्तौलाले भने।

उनले हालैको ’जेन जी’ आन्दोलन विदेशीको इशारामा राष्ट्रघातीहरूलाई सत्ता सुम्पनका लागि नभएको जिकिर गरे। बर्तौलाका अनुसार, युवाहरूको आन्दोलन सरकारको शासकीय कार्यशैलीले निम्त्याएको बेथिति, विकृति र भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापना गर्ने उद्देश्यले प्रेरित थियो।

जेन जीहरूले आन्दोलनमार्फत उठाएका हरेक जायज र न्यायोचित मागहरू पूरा गर्न सरकार तयार हुनुपर्दछ,’ उनले भने।
नेता बर्तौलाले यही भदौ २३ गतेको प्रदर्शनमा भएको ‘निर्मम, पाशविक र आततायी’ प्रहरी दमन तथा २४ गते भएका आगजनी, तोडफोड र लुटपाटजस्ता विध्वंसकारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पनि माग गरेका छन्।

उनले आयोगमार्फत दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने र यस कार्यमा आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *