दसैंअघि लाभांश घोषणा गर्दै आधा दर्जन बैंक, कुनले कति दिँदैछन् ?

काठमाडौँ । संचालनमा रहेका आधा दर्जन बैंकहरुले  दशैंअघि लाभांश घोषणा गर्ने भएका छन् । जसअन्तर्गत एभरेष्ट बैंकले बिहीबार मात्रै लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एभरेष्ट बैंक बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भइ वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

यस बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ थियो । यस आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । तर, बैंकले केही रकम जगेडामा राखेर २० प्रतिशत मात्रै वितरण गर्ने निर्णय गरेको हो ।

यसैगरी माछापुच्छ्रे बैंकले असोज १० मा बस्ने गरी पोखरामा २७औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नेछ।

साधारणसभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस्तै, प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अग्राधिकार सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनी समूहमा रिक्त सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्तलगायत प्रस्ताव पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ २७ मा बुक क्लोज गरिने बैंकको सूचनामा उल्लेख छ।

यस्तै नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले पनि लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

बैंकका अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

एभरेष्ट, सानिमा, सिटिजन्स, निफ्रा र कामना सेवा विकास बैंकसँगै मञ्जु श्री फाइनान्सले लगानीकर्तालाई दशैंअघि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न आवश्यक प्रक्रिया सुरु गरेका हुन् ।

सेयरधनीलाई दशैंअघि प्रतिफल घोषणा गर्न बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरणको अन्तिम लेखापरीक्षण गराई नेपाल राष्ट्र बैंकमा वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति (प्रिलिमनरी अप्रुभल) का लागि जानुपर्ने हुन्छ । हाल बैंक घोषित लाभांशमा राष्ट्र बैंकको अन्तिम स्वीकृति लिने प्रकृयामा छ ।

अन्तिम स्वीकृति लिएर पछि बैंकले वार्षिक साधारण सभाको मिति तय गर्ने छ। बाँकीमध्ये निफ्रा, कामना सेवा विकास बैंक र मञ्जुश्री फाइनान्सले गत आवको सम्बन्धित सुपरिवेक्षण विभागमा प्रिलिमनरी अप्रुभलको लागि पुगेका छन्। सानिमा र सिटिजन्स बैंकले पनि अन्तिम लेखापरीक्षण समाप्त गरी त्यसमा थप रिभ्यु गरिरहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *