झन्डै ७० लाखले लिए स्थायी लेखा नम्बर

काठमाडाैं। नेपालमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या झन्डै ७० लाख पुगेको छ। अर्थ मन्त्रालयका अनुसार गत असार मसान्तसम्म कुल ६९ लाख ९९ हजार ३५० जनाले स्थायी लेखा नम्बर लिएका छन्।

एकै वर्षमा ७ लाख ७३ हजार २१७ नयाँ करदाता थपिएका छन्। व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेको संख्या मात्रै ६ लाख ५४ हजार १८ ले बढेको छ। जसपछि व्यक्तिगत पीप्यान लिनेको संख्या ४९ लाख २ हजार ७२२ पुगेको छ।

त्यस्तै व्यावसायिक बीप्यान लिनेको संख्या १ वर्षमा २ लाख ८ हजार ४३० ले वृद्धि भई २० लाख ६० हजार ७५८ पुगेको छ। सरकारी निकायहरूद्वारा लिने डब्ल्यूप्यान लिनेको संख्या पनि ३५ हजार ८७० पुगेको छ।

अर्थ मन्त्रालयका अनुसार, “एक व्यक्ति, एक पीप्यान” नीतिले व्यक्तिगत पीप्यान संख्या उल्लेख्य रूपमा बढाएको हो। कोभिड–१९ महामारीको समयमा संख्यामा केही गिरावट आए पनि अहिले फेरि वृद्धि भइरहेको छ।

पीप्यान नम्बर बैंक खाता खोल्न, ऋण लिन, शेयर लगानी, सम्पत्ति खरिदबिक्री तथा ठूलो रकमको कारोबार जस्ता वित्तीय गतिविधिका लागि अनिवार्य बनाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *