काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्क र्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले एमसीसी सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीति अघि बढाउने उपकरण भएको आरोप लगाए । उनका अनुसार सम्झौताले चीन र भारतसँग नेपालको भू–राजनीतिक सन्तुलनमाथि गम्भीर असर पुर्याएको छ ।
संसद्मा छलफल नै नगरी एमसीसी पास गरिएको घटना लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन भएको दाबी गरे । उनले ‘एमसीसी असामान्य ढंगबाट अनुमोदन भयो, यो एक आश्चर्यजनक नाटक थियो,‘उनले भने ।
एमसीसी सम्झौता कार्यान्वयनबारे अझै अस्पष्टता रहेको खनालको भनाइ छ । संसद्मा समेत यसबारे कुनै गहन छलफल नभएकोप्रति उनले आश्चर्य व्यक्त गर्दै नेपालका लागि राष्ट्रिय हित र सार्वभौमसत्ताविरुद्ध जाने कुनै पनि प्रावधान स्वीकार्य नहुने बताए।






