काठमाडाैं। पुँजी कोषमा चापका कारण व्यवसाय विस्तारमा कठिनाइ भोगिरहेका बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले असोजदेखि हकप्रद सेयर स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ ।
हाल बैंकिङ प्रणालीमा प्रशस्त तरलता भए पनि पुँजी आधार कमजोर भएको कारण करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्था कर्जा विस्तारमा असमर्थ रहेका छन्। राष्ट्र बैंकको व्यवस्थापन समितिले सहजीकरणका लागि हकप्रद सेयर निष्कासनको बाटो खुलाउने निर्णय गर्दै सम्बन्धित विभागलाई निर्देशन दिएको हो।
राष्ट्र बैंकका अनुसार पर्याप्त तरलता हुँदाहुँदै पनि पुँजी कोषमा चापका कारण व्यवसाय विस्तार गर्न नसकेका संस्थालाई हकप्रद सेयरमार्फत पुँजी बढाउने अवसर दिइनेछ। असोजदेखि कार्यान्वयन थालिन्छ।
पुँजी अभावले १५ भन्दा बढी संस्था प्रभावित
हाल कम्तीमा ५ वटा बैंक तथा वित्तीय संस्थाले नियामकीय पुँजी सीमा कायम गर्न नसकेको राष्ट्र बैंकले जनाएको छ। १० संस्थाको पुँजी कोष सीमा नजिक पुगेको छ। पछिल्ला दुई वर्षमा खराब कर्जा बढ्दा नोक्सानी विस्तार, र त्यसले पुँजी कोषमा चाप बढाएको पाइएको छ।
गभर्नर डा. विश्व पौडेलको नेतृत्वमा राष्ट्र बैंकले सेयर बजारप्रति सकारात्मक सन्देश दिने नीति लिँदै आएको छ। यसअघि लघुवित्तको लाभांश वितरण सीमामा कडाइका कारण बजार ओरालो लागिरहेका बेला हकप्रद सेयर सम्बन्धी यो निर्णयलाई लगानीकर्ता मैत्री कदमका रूपमा हेरिएको छ।






