निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ‍लाई निर्देशन दिएका छन् ।

आइतबार सीआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रूपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु ।’ गृहमन्त्री लेखकले भने– ‘नेपाल प्रहरीभित्र पनि सीआइबी प्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’

मुलुकमा पछिल्लो समय वित्तीय अपराध बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको उनले जानकारी दिए ।

सीआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुति राखेका थिए । वरिष्ठ उपरीक्षक बोगटीले सीआइबीले निर्मला पन्त प्रकरणका साथै अरू घटना सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सीआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ् लगायत सीआइबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *