वर्षमान पुन भन्छन्- ‘जनार्दनजीले पार्टी छोड्नेवाला छैनन’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टी स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर अभिव्यक्ति दिएको बताएका छन् । आइतबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उनका अनुसार, आजको बैठकमा उपमहासचिव शर्माले आफ्ना कुरा राखेका थिए । सो क्रममा यो पार्टी कुनै हालतमा नछाड्ने र पार्टीमै आफ्ना कुरा बताएको पुनले बताए । ‘कतिपय मेरा पनि कमजोरी थिए, कति अध्यक्षका कति साथीभाइका थिए,’ शर्माको भनाइ उद्धृत गर्दै पुनले भने, ‘म यो पार्टी छोड्नेवाला छैन, म यो पार्टीमै रहने हो, यो पार्टीमा आफ्ना कुरा भन्छु ।’

शर्माले खुला रूपमा पार्टीका समस्याबारे भनाइ राखेको पुनले बताए । उनका अनुसार, स्थायी समिति बैठक भोलि सकिनेछ । वरिष्ठ उपाध्यक्ष र महासचिवले आफ्ना कुरा राखिसकेपछि प्रचण्डले भोलि जवाफ दिने उनले जानकारी दिए ।

केन्द्रीय समिति बैठक बस्नेबारे कुनै मतभेद नभएको उनले बताए । दशैंपछि पहाडी लोकमार्ग अभियान पूरा गर्ने र केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी गराए ।

बैठकमा खुला र स्पष्ट रूपमा छलफल भएको उनको भनाइ थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *