काठमाडाैं । हिमालयन बैंकको एफपिओ साउन १३ गते मंगलबार बाँडफाँट हुने भएको छ । बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म जारी गरेकाे एफपिओ आगामी मंगलबार बिहान ९ बजे बाँडफाँड गरिने भएकाे हाे ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि एफपीओ जारी गरेको थियो ।
बैंकले एक अर्ब ४५ करोड २३ लाख बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।
हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको थियो ।
एफपीओमा १७ लाख ४ हजार २७३ जनाले आवेदन दिएको बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटलले जानकारी दिएको छ । यो एफपीओ जनही १० कित्ताका हिसाबले ९ लाख २५ हजार ४६ जनालाई मात्र पर्ने छ भने ७ लाख ७९ हजार २२७ जनाकाे हात खाली हुनेछ ।





