काठमाडौँ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गरेकामा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई हप्काएका छन् ।
भण्डारीले एमाले केन्द्रीय कार्यालयबाट पार्टी सदस्यता नवीकरण गरेकी थिइन् । ओलीले शुक्रबारको पोलट्ब्यिुरो बैठकमा भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको दाबी गरे । तर, त्यो भन्दा अगाडि नै ओलीले भण्डारीको पार्टी सदस्यता विधिवत नवीकरण भएको जानकारी पाइसकेका छन् ।
ओलीले अधिकारीलाई बोलाएर भण्डारीको पार्टी सदस्यताको विषयमा जानकारी लिएका थिए । श्रोतका अनुसार अधिकारीले पूर्वराष्ट्रपतिले सदस्यता नवीकरणका लागि आवदेन दिएको र आफूले सदस्यता नवीकरण गरिदिएको जवाफ दिएका थिए । अधिकारीको जवाफले ओली झोक्किए । आफूलाई नसोधी भण्डारीको पार्टी सदस्यता नवीकरण गरेकामा उनले झपारे ।
‘मलाई नसोधी यति गम्भीर विषयमा कसरी निर्णय भयो ?’, ओलीले अधिकारीलाई भने, ‘यो तपाईंको अराजकता भयो ।’ ओलीले त्यसबारे असन्तुष्टि जनाएको विषय शुक्रबारको पोलिट्ब्युरो बैठकमा पुष्टि भयो ।
अधिकारीलाई बैठकमा महासचिव शंकर पोखरेलले पार्टी विधान संशोधन प्रस्तावबारे बोल्न समय दिएका थिए । बोल्ने क्रममा अधिकारीले आफूबाट ठूलो गल्ती भएको बताए । उनको संकेत भण्डारीको पार्टी सदस्यता नवीकरण गरेर आफूबाट गल्ती भएको भन्ने रहेको नेताहरुले बताएका छन् ।
तर, थप बोल्न खोज्दाखोज्दै महासचिव पोखरेलले रोके । ‘यो गल्ती स्वीकार गर्ने समय होइन’, उनले भने, ‘जे विषयमा बोल्न समय दिइएको हो त्यो विषयमा मात्र बोल्नुस् । आत्मालोचना पछि गर्नुहोला ।’





