काठमाडौँ। कर्णाली विकास बैंकमा भएको ४ अर्ब ९० करोड घोटाला प्रकरणमा नेपाल राष्ट्र बैङ्कका एक पूर्वकर्मचारी पक्राउ परेका छन् ।
बैङ्कको अवस्था नाजुक हुँदा समेत ‘गुड’ प्रतिवेदन बनाई घोटालामा सघाउ पुर्याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राष्ट्र बैंकका कर्मचारी भुवन बस्नेतलाई पक्राउ गरेको हो ।
बैङ्कको घोटाला प्रकरणमा संलग्न भएको आरोपमा सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेतलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।
अनुगमन अधिकृतका रूपमा खटिएका बस्नेतले बैङ्क गम्भीर समस्यामा पुगिसकेको बेलामा समयमा पनि अवस्थामा गलत प्रतिवेदन बुझाएको आरोप छ ।
यस प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले नेपाल राष्ट्र बैङ्कलाई पत्रचार गरी अनुगमनमा खटिएका अधिकारीहरूको विवरण माग गरेको थियो ।
कर्णाली विकास बैङ्कका अन्य बैङ्क खातामा रहेको रकम र बैङ्कको कोर बैङ्किङ प्रणाली (सीबीएस) मा प्रविष्ट रकमबीच ठूलो अन्तर देखिएपछि घोटाला बाहिरिएको थियो । आन्तरिक छानबिन समितिले विभिन्न बैङ्कको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि ठगी र अपचलन गरिरहेको भेटिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआइबीसँग सहयोग माग गरेको थियो ।
उक्त घोटाला प्रकरणमा प्रहरीले यसअघि नै बैङ्कका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई भारतबाट पक्राउ गरि अनुसन्धान गरि रहेको छ भने अर्का अध्यक्ष मिश्रलाई नेपालगन्जबाट नियन्त्रणमा लिएको थियो । बैङ्क ठगीमा पूर्व सीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, नीरजविक्रम शाह लगायतको संलग्नताका बारे अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ।





