काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि घरजग्गा कर्जामा लचिलो नीति ल्याएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अब घर किन्न व्यक्तिगत रूपमा लिन सकिने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ।
त्यस्तै, घर वा जग्गा खरिद गर्दा मूल्यांकनको आधारमा दिइने कर्जाको सीमा वृद्धि गरिएको छ। अब बैंकले मूल्यांकन मूल्यको ७० प्रतिशतसम्म कर्जा दिन सक्नेछ। यसअघि यो सीमा ५० प्रतिशतमा सीमित थियो।
नयाँ नीति अनुसार, अब खरिदकर्ताले न्यूनतम मौज्दात रकम राखेर पनि अधिक मूल्यको घरजग्गा किन्न सक्नेछन्, जसले बैंकिङ प्रणालीमार्फत रियल स्टेट क्षेत्रमा तरलता प्रवाह बढाउने अपेक्षा गरिएको छ।
साथै, नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्रलाई गतिशिल बनाउन लचिलो मौद्रिक नीति ल्याएको छ। केन्द्रीय बैंकले नीतिगत दर ५ प्रतिशतबाट ४.५ प्रतिशत र स्थायी तरलता दर ६ प्रतिशतमा घटाएको छ। आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई प्रवाह हुने कर्जा १२ प्रतिशत वृद्धि र आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।






