काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेश पलायनबाट रोक्ने गरी बजेट केन्द्रित रहेको बताएका छन् । उनले नेपालभित्रै करिब ५० वर्षसम्मको आन्तरिक आवश्यकता धान्न सक्ने तेल र ग्यासको खानी रहेको समेत दाबी गरे ।
बिहीबार मिडिया इन्टरनेसनलले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सही राजनीतिक नेतृत्व, स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यान्वयन भएमा नेपालका प्राकृतिक स्रोत र जनशक्तिको सदुपयोगबाटै देशलाई समृद्ध बनाउन सकिने बताए । ‘मानिसले अन्तरिक्षमा सम्भावना खोजिरहेका छन् भने हामीले आफ्नै देशका सम्भावना किन नखोज्ने ?’ उनले प्रश्न गरे, ‘हाम्रो जनशक्तिलाई देशभित्रै कसरी रोक्ने र यहीँ अवसर कसरी सिर्जना गर्ने भन्ने उद्देश्यमा नै यो बजेट परिलक्षित छ ।’
सरकारले बजेटमार्फत युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न विशेष कार्यक्रम ल्याएको उनको भनाइ थियो । अर्थमन्त्री पौडेलले भने, ‘हामीले स्टार्टअप, सूचना प्रविधि (आईटी) र अन्य नवीनतम उद्यमशीलताका क्षेत्रमा नयाँ कार्यक्रमहरू अघि सारेका छौँ । यसको सफल कार्यान्वयनसँगै युवाहरूले देशभित्रै आफ्नो भविष्य खोज्ने बलियो आधार तयार हुनेछ ।’
आफ्नो सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले नेपालको जलस्रोत, प्रकृति र प्राकृतिक सम्पदाको सही सदुपयोग नै विकासको मूल आधार भएको बताए । उनले भने, ‘हामीसँग प्राकृतिक सम्पदाको विशाल भण्डार छ । यसको सही उपयोग गर्दै हाम्रो जनशक्तिलाई देशको विकास र समृद्धिमा परिचालित गर्नु सरकारको प्रमुख लक्ष्य हो ।’






