भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला

काठमाडौं । पाकिस्तानले भारतमाथि लगातार दोस्रो दिन पनि ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार जम्मू कश्मीर, पञ्जाब र राजस्थान राज्यका ११ भन्दा बढी सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हो।

जम्मू कश्मीरमा जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा र अरनिया क्षेत्रमा ड्रोन आक्रमण भएको बताइएको छ। यसका साथै पञ्जाबको पठानकोट र राजस्थानको जैसलमेर तथा पोखरण पनि पाकिस्तानी ड्रोनको निशानामा परेका छन्।

पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोटस्थित भारतीय वायुसेना स्टेसनलाई लक्षित गरेको भए पनि भारतीय वायु रक्षा प्रणालीले ती आक्रमणलाई सफलतापूर्वक निष्क्रिय पारेको दाबी गरिएको छ। जैसलमेरमा भएको आक्रमणपछि राजस्थानका सबै सीमावर्ती क्षेत्रमा पूर्ण ब्ल्याकआउट गरिएको छ।

सुरक्षाको दृष्टिकोणले जम्मू कश्मीर, पञ्जाब र राजस्थान राज्यहरूमा उच्च सतर्कता जारी गरिएको छ। पञ्जाबको जालन्धर र अमृतसर, साथै राजस्थानको बीकानेर र श्रीगंगानगरमा पूर्ण अन्धकार छ। यस्तै, जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पनि पूर्ण ब्ल्याकआउट गरिएको छ।

आरएस पुरा क्षेत्रमा पाकिस्तानतर्फबाट भारी गोलीबारी भइरहेको जनाइएको छ। स्थानीय बासिन्दाहरूका अनुसार धेरै स्थानमा विस्फोटको ठूलो आवाज सुनिएको छ। साथै, नियन्त्रण रेखानजिकै कुपवाडा र बारामुल्ला क्षेत्रमा दुवै पक्षबीच तीव्र गोलीबारी भइरहेको समाचार प्राप्त भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *